Saturday, January 9, 2010

नेपालमा भन्दा अमेरिकामा घर सस्तो

अमेरिका, १० जनवरी / स्थायी रूपले अमेरिका बस्दै आएका राजेन्द्र महर्जनले १ लाख ८० हजार डलरमा मेरिल्यान्डमा हालै घर किने। "काठमाडौंको आठ आना जग्गा बेच्दा यहाँ घरै आयो," उनले भने। आर्थिक मन्दीको असरले मूल्य घटेको मौका छोपेर अमेरिकाको राजधानी वासिङ्टन डिसीनजिक मेरिल्यान्डलगायत अन्य स्थानमा घर किन्ने नेपालीको संख्या बढेको छ। नेपालमा घरजग्गाको मूल्य अकासिनु र अमेरिकामा सस्तिनु एकैपटक परेकाले महर्जनजस्ता धेरैले नेपालका घरजग्गा बेच्दै यता किन्न थालेका छन्।माओवादी र सशस्त्र समूहले व्यक्तिगत जग्गा कब्जा गर्ने आशंका, जमिन खोस्ने हल्लाजस्ता कारण यहाँ बस्ने नेपालीमा आफ्नो पुर्ख्यौली सम्पत्तिलाई लिएर त्रास बढेको छ। अमेरिकास्थित नेपाली दूतावासले जारी गर्ने वारेसनामा कागजातले पनि यो पुष्टि गर्छ। यो वर्ष साउनदेखि मध्यपुससम्म १ सय ५० जनाले नेपालमा भएका घरजग्गा बेच्न वारेसनामा बनाएर पठाएको दूतावास अधिकारीले जानकारी दिए। गत आर्थिक वर्ष करिब ३ सय नेपालीले वारेसनामा बनाएर नेपालका घरजग्गा बिक्री गर्ने अधिकार त्यहाँ बस्नेलाई दिएका थिए। एक वर्षअघि यही अवधिमा वारेसनामा बनाउने ९० थिए। "वारेसनामा लिन आउनेले नेपालमा घरजग्गा बेचेर पैसा ल्याउने बताउने गरेका छन्," दूतावासका अधिकृत गौरीस्वर रेग्मीले भने।वारेसनामा लिन आउने नेपालीलाई उद्धृत गर्दै रेग्मीले भने, "नेपालमा महँगो भयो, यहाँ घर सस्तो छ, त्यसैले त्यहाँ बेचेर यहाँ किन्ने वा किस्ता तिर्ने बताउँछन्। स्थायी रूपमा यतै बस्ने भएपछि उता किन सम्पत्ति राखिरहनु भन्ने सोच पनि भेटिएको छ।" "नेपाल फर्कने होइन, त्यहाँभन्दा यहाँ सस्तो छ,"दूतावासमा वारेसनामा लिन आएकी सुधाले भनिन्, "किन यहीं नजोड्ने?"वारेसनामा बनाउन २५ डलर लाग्छ। केही महिनाअघि मेरिल्यान्ड राज्यमा १ लाख ५० हजार डलरमा घर किनेका विष्णु लामाले भने, "खानेपानी नआउने र ग्यास अभाव भइरहने काठमाडौँमा घरजग्गा छुनै नसकिने छ। बरु यतै जोडौं भनेर किनेको।" स्थायीमात्र होइन, गैरकानुनी रूपमा बस्ने नेपालीले समेत घरमा लगानी गरेका छन्। आर्थिक मन्दीले अमेरिकी रियलस्टेटमा गिरावट आएको छ। यसले काठमाडौं उपत्यकाको औसत मूल्यभन्दा अमेरिकामा घरको मूल्य सस्तो छ। अमेरिकाका कतिपय ठाउँमा घरको मूल्य दुई दसकयताकै सबभन्दा न्यून बिन्दुमा झरेको छ। अमेरिकी सरकारले पहिलोपटक घर किन्नेलाई ८ हजार डलर कर छुट दिन्छ। बैंकबाट सरल रूपमा पैसा पाइने भएकाले पनि घर किन्न सजिलो छ।"न्यून आय भएकालाई पनि घरमा लगानी गर्न प्रोत्साहन भइरहेको छ," हालै डिसीमा घर किनेका पुकार राणाले भने। प्रत्येक महिना तिर्नुपर्ने भाडाबराबरको किस्तामा घरै आउने भएकाले आफूले लगानी गरेको उनले बताए।केही नेपालीले भाउ घटेको मौकामा व्यावसायिक रूपमा पनि घरजग्गामा लगानी गरेका छन्। नेपालीले प्रायः १ लाखदेखि ३ लाख डलरसम्मका घर किन्दै आएका छन्। केही नेपालीले सहरभन्दा अलि टाढा जमिन पनि किनेका छन्।नेपालबाट कानुनी रूपमा १० हजार डलरभन्दा बढी पैसा अमेरिका ल्याउन सजिलो छैन। त्यही भएर अधिकांशले हुन्डीमार्फत पैसा ल्याउने गरेका छन्। "कति रुपैयाँ नेपालबाट अमेरिका आइरहेको छ भन्ने अनुमान गर्न सकिँदैन," राजदूत शंकर शर्माले भने, "अमेरिका, बेलायत, अस्ट्रेलियालगायत देशबाट नेपालमा पैसा जानेभन्दा नेपालबाटै बाहिरिने प्रवृत्ति बढेको छ।"केही दिनअघि राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईले नेपालबाट ठूलो मात्रामा पैसा बाहिर जाने गरेको बताएका थिए। विदेशबाट आउने पैसा (रेमिटेन्स) को वृद्धि कम हुनु र आयात बढ्नुले नेपालको अर्थतन्त्रमा समस्या सुरु भएको छ।यसबीच आर्थिक मन्दीले किस्ता तिर्न नसक्दा केही नेपालीका घर लिलामीमा समेत परेका छन्। महँगो हुँदा घरमा बढी पैसा हालेका अहिले समस्यामा छन्। अमेरिकामा नेपालीको संख्या करिब २ लाख पुगेको अनुमान छ। डिभी चिठ्ठा, विद्यार्थीलगायत अन्य रूपमा अमेरिका आउने नेपालीको संख्या बढिरहेको छ।

0 comments:

Post a Comment